⚠ काम अझै जारी छ — Website is still under construction

विद्यालयको परिचय

वि.सं. २०४५ सालमा स्थापित, गुणस्तरीय, समावेशी तथा प्रविधिमैत्री शिक्षाप्रति प्रतिबद्ध सामुदायिक विद्यालय।

विद्यालयको इतिहास

समुदायको पहलबाट सुरु भएको शैक्षिक यात्रा

पशुपति माध्यमिक विद्यालय धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–१२, दामगाडेमा अवस्थित एक सामुदायिक शैक्षिक संस्था हो। स्थानीय रूपमा अवस्थित हिन्दुहरूको आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरको नामबाट यस विद्यालयको नामकरण गरिएको हो।

स्थानीय बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा बुद्धिजीवीहरूको सक्रिय पहलमा वि.सं. २०४५ साल माघ २७ गते विद्यालयको औपचारिक स्थापना भएको हो। यसअघि वि.सं. २०४४ सालदेखि चौतारामा अनौपचारिक रूपमा सञ्चालन हुँदै आएको पठनपाठनलाई संस्थागत रूप दिँदै विद्यालय स्थापना गरिएको अभिलेखमा उल्लेख छ।

विद्यालय स्थापनामा हर्कबहादुर भण्डारी, छविलाल श्रेष्ठ, ताराबहादुर राउत, भोजनारायण श्रेष्ठ, रामचन्द्र कुमाल, तेजबहादुर अधिकारी, भक्तबहादुर राउत, जीतबहादुर दमाई, चन्द्रकान्त दुवाडी, यदुकुमार दुवाडी, स्वर्गीय रामचन्द्र भण्डारी, होमनारायण श्रेष्ठ, स्वर्गीय भिमसेनकुमार श्रेष्ठ, गोकर्णप्रसाद सापकोटा लगायतका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय योगदान रहेको छ।

हाल यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म नियमित पठनपाठन सञ्चालन भइरहेको छ। गुणस्तरीय, समावेशी तथा जीवनोपयोगी शिक्षामार्फत सक्षम, नैतिक, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय निरन्तर शैक्षिक उत्कृष्टताको यात्रामा अग्रसर रहेको छ।

शैक्षिक यात्रा

विद्यालय विकासका मुख्य चरणहरू

२०४४

अनौपचारिक सुरुआत

चौतारामा अनौपचारिक रूपमा पठनपाठन सञ्चालन।

२०४५

औपचारिक स्थापना

माघ २७ गते विद्यालयको औपचारिक स्थापना।

२०५२

निम्न माध्यमिक तह

निम्न माध्यमिक तह सञ्चालनको सुरुआत।

२०६४

माध्यमिक तह

कक्षा ९–१० सञ्चालन गर्ने अनुमति प्राप्त।

२०७६

कक्षा ११–१२

उच्च माध्यमिक तहसम्म शैक्षिक सेवा विस्तार।

हाम्रो लक्ष्य

गुणस्तरीय र मूल्यमा आधारित शिक्षा

गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा मूल्यमा आधारित शिक्षा प्रदान गर्दै सक्षम, सिर्जनशील, अनुशासित, नैतिक, जिम्मेवार र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुनु।

हाम्रो प्रतिबद्धता

विद्यार्थीको सर्वाङ्गीण विकास

सुरक्षित, समावेशी, बालमैत्री र सिकाइअनुकूल वातावरणमा ज्ञान, सीप, सिर्जनशीलता, अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्वको विकास गर्नु।

हाम्रो विशेषताहरू

विद्यालयका शैक्षिक प्राथमिकताहरू

बालविकासदेखि कक्षा १२ सम्म गुणस्तरीय, समावेशी तथा विद्यार्थी केन्द्रित शिक्षा प्रदान गर्नु।

विद्यार्थीमा ज्ञान, सीप, सकारात्मक सोच, सिर्जनशीलता तथा नेतृत्व क्षमता विकास गर्नु।

नैतिकता, अनुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्रिय भावनाको विकास गर्नु।

सूचना तथा सञ्चार प्रविधिमैत्री शिक्षण–सिकाइलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु।

खेलकुद, अतिरिक्त तथा सहपाठ्य क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास गर्नु।

समुदाय, अभिभावक तथा सरोकारवालासँग सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु।

सक्षम, दक्ष, रोजगारमुखी तथा उच्च शिक्षाका लागि योग्य जनशक्ति उत्पादन गर्नु।

सुरक्षित, समावेशी, बालमैत्री तथा सिकाइअनुकूल शैक्षिक वातावरण सुनिश्चित गर्नु।

स्थानीय कला, संस्कृति, भाषा, परम्परा तथा वातावरण संरक्षणप्रति सकारात्मक दृष्टिकोण विकास गर्नु।

विद्यालयलाई समुदायको पहिलो रोजाइको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नु।

२०४५स्थापना वर्ष
१२कक्षा सञ्चालन
नीलकण्ठ–१२विद्यालयको स्थान
समुदायविद्यालयको आधार